- रस्मी कार्की पुरी -
१५ शताब्दी तिरको कुरा हो, नुरेम्बेर्ग नजिकैको एउटा सानो गाँउमा एउटा सुनारको ठुलो परिवार बस्थ्यो । सुनारको १८ जना सन्तान थिए जसको लालन पालनको लागि उनलाई दैनिक १८ घण्टा आफ्नो सुनारीमा बिताउनु पर्थ्यो भने बाँकी समय चाँही उनी आफ्नो छिमेकीहरुको घरमा निमेकी गर्दथे। गरीब भएर यस्तो दु:ख सुखले जीवन गुजारिरहेको यस परिवारको १८ मध्ये २ जना छोराहरु अल्ब्रेच्ट डुरेर र अल्बेर्टलाई कलामा ठूलो शोख थियो । उनीहरु दुबै जना आफ्नो शोखलाई पूर्ण गर्नको निम्ति नुरेम्बेर्गको कलाको स्कूलमा अध्ययन गर्न चाहन्थे । तर आफ्नो आर्थिक अवस्थाको कारणले गर्दा उनीहरुका बाबुले उनीहरुलाई नुरेम्बेर्गको कलाको स्कूलमा पठाउन सक्दैनन् भन्ने उनीहरुलाई राम्रोसँग ज्ञान थियो ।
अनगिन्ती लामा छलफलहरु पछि एक रात दुबै जना दाजुभाईले आफ्नो पढ्ने ईच्छा पुरा गर्न एउटा जुक्ती गर्छन् । एउटा सिक्का उछालेर आफ्नो भविस्यको बारेमा निर्णय गर्ने - जस अनुसार जसले जित्छ ऊ पढ्नको लागि नुरेम्बेर्ग जान्छ, अनी अर्कोले उसको पढाईको खर्च नजिकैको खानीमा दिन रात काम गरेर जुटाउँछ , अनि अर्को भाई आफ्नो चार बर्षको पढाई पूरा गरे पछि आफ्नो क्षेत्रमा काम गरेर अथवा खानिमै गएर भए पनि काम गरेर अर्कोलाई पढाउनु पर्नेछ ।
एक सुनौलो आईतवारको दिन चर्चमा गएर प्रार्थना गरेर फर्के पछि दुबै जना आफ्नो भाग्यको फैसला सिक्का उछालेर गर्छन् । भाग्यको खेलले अल्ब्रेच्ट डुरेरको साथ दिन्छ र उनी आफ्नो सल्लाहको अनुसार नुरेम्बेर्गमा पढ्नको लागि प्रस्थान गर्छन् । यता अर्को भाई अल्बेर्ट चाँही पैसाको ब्यवस्था गर्नको लागि डर लाग्दो खानिमा गएर रातदिन एक पारेर काम गर्न थाल्छन् । उता अल्ब्रेच्ट मेहनतका र लगनका साथ पठनपाठन तर्फ लाग्छन् । अल्ब्रेच्टको हातले कलामा जादुगरिरहेको थियो , उनको काम उनकै गुरुहरुको भन्दा धेरै कुशल हुँदै थियो । उनको पढाई सकिदासम्म उनले धेरै राम्रा-राम्रा काम पाउन थालिसकेका थिए र उनको कमाइ पनि राम्रो भइसकेको थियो ।
आफ्नो पढाई पूरा गरेर एक दिन अल्ब्रेच्ट आफ्नो गाउँ फर्किन्छन् , जहाँ उनको परिवारले भब्य स्वागत गर्छन् । स्वादिलो मिस्ठान्न भोजन तथा मनोरन्जनको लागि अनेक नाचगान पनि राखिएको हुन्छ । सबै कार्यक्रम पछि अल्ब्रेच्टले आफ्नो टेबलबाट उठेर अल्बेर्टलाई सम्बोधन गरेर उनको सम्पूर्ण त्यागको लागि धन्यवाद टक्रयाउँदै भन्छन् ,'मेरा प्यारो भाई अल्बेर्ट , अब तिम्रो पालो आफ्नो सपना पूरा गर्ने अनि मेरो कर्तब्य हो तिम्रो पढाइको खर्च पूरा गर्ने । "
सबै जनाको आँखा टेबलको अर्को कुनामा बसेको अल्बेर्टको तर्फ जान्छ । अल्बेर्टको कमजोर अनुहारमा आसुँको धारा बहन थाल्छन अनि बारम्बार उनको मुख बात एउटै शब्द आइरहन्छ , " नाई , नाई , नाई "
अन्त्यमा अल्बेर्ट आफ्नो कुर्सीबाट उठ्छन, आफ्नो आसुँ पुछ्छन्,र एक पटक आफ्नो सबै परिवारजनको अनुहार हेर्छन् अनि आफ्नो हात आफ्नो दाहिने गालामा राख्दै भन्छन् ," हुँदैन भाई, म नुरेम्बेर्ग जान सक्दिन । अब धेरै ढिला भइसक्यो । चार बर्ष खानिमा काम गरेर हेर मेरो हात सबै खिइसक्यो , हरेक औंलाहरु कामसेकम एक पटक भाँचिएका छन् । मेरो दाहिने हातमा हड्डीको रोगको कारण एउटा गिलास उठाएर तिमीले दिएको टोस्ट समेत फर्काउन नसक्ने अवस्थामा छु भने म कसरी क्यान्भास र कुची सम्भाल्न सक्छु र ? त्यस कारण मेरो भाइ अब धेरै नै ढिला भइसक्यो ।”
४५० बर्ष भन्दा बढी बितीसक्यो । अहिले सम्म अल्ब्रेच्ट डुरेरको सयौ कला कृतिहरु संसारका प्राय सबै सङ्ग्रहालयको शोभा बढाइरहेका छन् । उनका कला कृतिहरु एकदम प्रसिद्ध छन् , संसारमा अल्ब्रेच्टको नाम कला जगतमा धेरै ख्याती कमाइसकेको छ। उनका सबै कामहरु मध्ये एउटा चित्र सबै माझ एकदम प्रसिद्ध छ । तपाईं हामीहरु मद्धे कतिको घर अफिसमा उक्तचित्र सज्जिरहेको हुन सक्छ । त्यो विश्व प्रसिद्ध चित्र त्यो थियो जुन एक दिन यिनै महान हस्ती अल्ब्रेच्टले आफ्नो भाई अल्बेर्टको त्याग र बलिदानको मान राख्दै , उनको कमजोर औंलाहरु तथा हत्केलाको चित्र कोरेका थिए। उक्त चित्रलाई अल्बेर्च्तले "हात" भनेर नाम राखेका थिए । तर संसारले उक्त चित्रलाई धेरै नै मन पराएर मायाको चिनो मान्दै नयाँ नाम राखे "प्रार्थना गरेको हात "।
यो कथाबाट हामीले बुझ्नु पर्ने कुरा चाहिँ “एक्लै केही पनि सम्भब छैन । हाम्रो सफलतामा कुनै न कुनै रूपमा भए पनि अरुको हात हुन्छ । त्यसैले ती सहयोगी हातहरुको सम्मान गर्नु पर्दछ” ।
*** समाप्त ***
तस्विरको स्रोत: Wikipedia
कथाको स्रोत: MoralStories.org
कस्तो मनछुने कथा। पढेपछी पो थाहा भयो यो त वास्तविक कथा पो रहेछ। धेरै-धेरै धन्यवाद। अझै पस्किदै जानु है।
ReplyDelete