Thursday, February 2, 2012

कथा: "आमा, वाई"

एउटा भर्खरको केटा किनमेलको लागि सुपरमार्केट भित्र छिरेछ। यतिकैमा उसलाई एक बुढी आइमाईले पछ्याईरहेको थाहा पाएछ । तरपनि उसले वास्ता नगरी हिडेछ। आफूलाई चाहिएको सामान छानेपछि काउन्टरमा पैसा तिर्न गएछ।

काउन्टरमा त्यो बुढीमान्छे उसको केहि अगाढी रहिछ। बुढीमान्छे त्यो केटाको नजिकै आएर भनिछ : "बाबु, अगि तिम्रो पछीपछी लागेकोमा मलाई माफ गर। खासमा मेरो छोरा भर्खर बित्यो। तिम्रो अनुहार गरेको थियो। त्यहि भएर मलाई छोराको यादले गर्दा तिमीलाई पछ्याएँ । यसले तिमीलाई अप्ठेरो बनायो होला। मलाई माफ गरेस है"। वुढी आमाको यो कुरा सुनेपछी त्यो केटालाई नरमाईलो लागेछ र बुढीआमालाई सान्त्वना दिदै भनेछ: “आमा तपाईंको कुरा सुनेर दु:ख लाग्यो। जीवन यस्तै हो। मर्ने दिनको टुङ्गा हुँदैन। हामी पनि कुन दिन मर्ने हौ के थाहा हुन्छ। वरु केही सहयोग गर्नुपर्यो भने मलाई भन्नु है"।

केटाको कुराले वुढियालाई केही राहत मिलेछ। उसले भनिछ: “वावु तिमीसँग फेरि भेटहुन्छ हुन्न थाहा छैन । तिमीलाई अप्ठेरो लाग्दैन भने म यहाँवाट जानेवेलामा ‘आमा वाई’ भनेर हात हल्लाई दिए है। त्यसले छोराको विछोडमा तड्पिएको मेरो मनलाई केही मलम लगाई दिन्छ वावु” । केटाले हवस् आमा भनेर भनेछ।

वुढियाले पैसातिरेर हिड्न लाग्दा केटाले 'आमा, वाई’ हात हल्लाई दिएछ। त्यो केटाको कुराले वुढीयालाई राहत मिलेछ। केटापनि वुढिआमाको केही हँसिलो मुहार देखेर सन्तोष मिलेछ। त्यो घटनापछी केटोले संसार कस्तो अचम्मको हुने रहेछ भन्ने कुरा सोच्न लागेछ। आफू अगाडिका मान्छे सकिएपछि उसको पालो आएछ । उसले आफ्नो सामानको पैसा तिर्न लागेछ। पसलेले सामानको मुल्य रु १००० भयो भनेपछी उसले भनेछ: यति थोरै सामान किन्दा पनि कसरी यत्रो पैसा ? यतिकैमा पसलेले भनेछ: “तिम्रो आमाको र तिम्रो गरेर यती हो” ।

- समाप्त -

कथा समाप्त । यो कथाले के शिक्षा दिन्छ कमेन्टमा लेख्नु है :-)
फोटो र कथाको स्रोत: गुडवाई मम